सहिद स्मारक ‘सी’ डिभिजन लिग

रोशनको ह्याट्रिकमा समाज कल्याणको फराकिलो जित

काठमाडौं । रोशन क्षेत्रीको ह्याट्रिकप्रेरित समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक ‘सी’ डिभिजन लिग २०२४मा फराकिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार सम्पन्न खेलमा समाज कल्याणले मनोहरा युनाइटेड युवा क्लबलाई ५-० ले पराजित गर्यो ।

विजयी सुरुआत गरेको समाज कल्याण तीन अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमै चार गोल गरेको समाज कल्याणले दोस्रो हाफमा एक गोल थप्यो  ।

खेलको ३४औं मिनेटमा रोशनको गोलमा समाज कल्याणले खेलमा अग्रता लिएको थियो । निरज परियारको क्रसमा रोशनले ट्याप इन गोल गरेका थिए । 

त्यसको पाँच मिनेटमा विपक्षी रक्षक विसान्त मगरको गल्तीको फाइदा उठाउँदै निरजले समाज कल्याणको अग्रता दोब्बर बनाए । निरजको लोअर प्रहारले पहिलो बारको जाली चुमेको थियो ।

रोशनले ब्यक्तिगत दोस्रो गोल गर्दै समाज कल्याणको अग्रता ३-० काे बनाए। यसपालि पनि रोशनले निरजको पासलाई सदुपयोग गरे ।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा दीकेश लामाको क्रसमा सन्जिव अर्यालले गोल गरेपछि समाज कल्याण ४-० ले अगाडि बढ्यो ।

रोजल दाहालको प्रहारलाई ७९औं मिनेटमा मनोहराका गोलकिपर सुजित कुमार चौधरीले बचाए पनि नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई रोशनले पोस्टको दिशा दिए । यससँगै रोशन जारी सिजनमा ह्याट्रिक पूरा गर्ने खेलाडी पहिलो खेलाडी बने ।

गत सिजन समाज कल्याणले नवौं र मनोहराले ११औं स्थानमा रहेर लिग टुंगाएको थिए ।