एसएमएस फ्रेन्डसिप कप

एसएमएस फ्रेन्डसिप कप: नेपाल च्याम्पियन

काठमाडौं । घरेलु टोली गुजरात क्रिकेट संघलाई १८ रनले पराजित गर्दै नेपाल एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा आइतबार नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १५८ रन बनायो ।

गुजरातका लागि कप्तान उमंगकुमार तान्डेलले, ४०, आर्य देसाइले ३६ , रुद्र पेटलले १७, जयमित पटेलले र हर्ष देसाइले समान १५ तथा सरल प्रजापती र जाला युवराजसिंहले अविजित १० रन बनाए ।

पहिलो विकेटका लागि आर्य र रुद्रले ५४ रनको साझेदारी गरे। नेपालका लागि अविनाश बोहराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७६ रनको योगफल तयार पार्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ र कुशल भुर्तेलले १९ रन बनाए ।

रोहितले दोस्रो विकेटका लागि आशिफसँग ७७ र तेस्रो विकेटका लागि कुशल मल्लसँग ५२ रनको साझेदारी गरे ।  गुजरतका लागि जयमित पटेल, शहिन पटेल, जाला युवराजसिंह र तेजस पटेलले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालले गुजरातमाथि ह्याट्रिक जित निकाल्यो । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले पराजित गरेको थियो ।

यसैगरी बरोडा क्रिकेट संघलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा भने बरोडासँगै ३७ रनले निरास बनेको थियो । यता गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित गर्दै फाइनल पुगेको थियाे।