ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला

न्युजिल्यान्डलाई दुई खेल अगावै ट्वान्टी २० शृंखला

काठमाडौं । तेस्रो खेलमा पाकिस्तानलाई ४५ रनले हराउँदै घरेलु टोली न्युजिल्यान्डले दुई खेल अगावै ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ । जितसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखलामा ३-० को अग्रता लिएको छ ।

डुनेदिनस्थित युनिभरसिटी ओभलमा बुधबार न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय २५ रनले लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर नै ब्याटिङ गरेपनि सात विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि बाबर आजमले ३७ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । मोहम्मद नवाजले २८, मोहम्मद रिजवानले २४, फखर जमानले १९, कप्तान शाहिन शाह अफ्रिदीले विजित १६ र आजम खानले १० रन बनाए ।

बाबर आजम

न्युजिल्यान्डका लागि टिम साउथीले दुई तथा म्याट हेनरी, लोकी फर्गुसन, मिचेल स्यान्टनर र इश सोढीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धाारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो । 

न्युजिल्यान्डका लागि फिन एलनले ६२ बलमा ५ चौका र १६ छक्कासहित १ सय ३७ रनको योगदा गरे । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको दोस्रो शतक हो ।

एलनले ट्वान्टी २० अन्तर्राष्ट्रियमा एकै खेलमा सर्वाधिक छक्का हान्ने विश्व कीर्तिमानमा अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाईसँग बराबरी गरेका छन् । जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध१६ छक्काको कीर्तिमान कायम गरेका थिए ।

फिन एलन

त्यस्तै एलन  न्युजिल्यान्डका लागि एकै ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । उनले सन् २०१२ मा पूर्वकप्तान ब्रेन्डन म्याककुलेमले बंगलादेशविरुद्ध बनाएको १ सय २३ रनको कीर्तिमान तोडेका हुन् ।

यसैगरी टिम सिफर्टले ३१ र ग्लेन फिलिप्सले १९ रन बनाए । दोस्रो विकेटका लागि टिम सिफर्ट र एलेनले ६१ बलमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गरे ।

पाकिस्तानका लागि हरिस रौफले दुई तथा शाहिन शाह अफ्रिदी, जमान खान, मोहम्मद नवाज र मोेहम्मद वासिमले समान एक विकेट लिए ।

यसअघि न्युजिल्यान्ड ४६ र २१ रनले विजयी भएको थियो । शृंखलाको चौथो खेल शुक्रबार हुनेछ ।