अफ्रिका कप अफ नेसन्स

मालीले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध २-० को जित निकाल्दै मालीले आइभोरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्समा सुखद् सुरुआत गरेको छ ।

अमाडो गन काउलीबाली रंगशालामा मंगलबार मालीलाई जित दिलाउन हमारी ट्राओरे र लासिन सिनायोकोले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।

जितसँगै समूह ‘इ’ को मालीले तीन अंक जोड्दा दक्षिण अफ्रिकाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

खेलको ६० औं मिनेटमा ट्राओरेको गोलमार्फत मालीले अग्रता लिएको थियो । ६ मिनेटपछि नै सिनायाकोले टोलीको अग्रता दोब्बर बनाए ।  त्यसपछि थप गोल निस्कन नसक्दा माली २-० ले विजयी भयो ।

यही समूहको अर्को खेलमा नामिबियाले ट्युनिसियामाथि १-० को कठिन जित निकालेको छ । यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा बुर्किना फासोले मौरितानियामाथि १-० को जित निकाल्यो ।