ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला

अस्ट्रेलियालाई ट्वान्टी २० शृंखला

काठमाडौं । घरेलु टोली भारतविरुद्ध महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलिया सात विकेटले विजयी भएको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ । मुम्बाईस्थित डिवाइ पाटिल स्पोर्टस एकेडेमीको मैदानमा मंगलबार भारतले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य अस्ट्रेलियाले १८.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । 

अस्ट्रेलियाका लागि कप्तान कप्तान एलिसा हेलीले ३८ बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरिन् । यसैगरी बेथ मोनीले ४५ बलमा पाँच चौकाको मद्दतले अविजित ५२,ताहलिया म्याकग्राथले २० र फोबी लिचफिल्डले अविजित १७ रन बनाए ।

भारतविरुद्ध ब्याटिङ गर्दै बेथ मोनी

पहिलो विकेटका लागि हेली र मोनीले ८५ रनको साझेदारी गरे । भारतका पूजा वस्त्राकरले दुई र दिप्ति शर्माले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो । भारतका लागि ऋचा घोषले ३४, स्मृति मन्धनाले २९, सफाली बर्माले २६, अमनजोत कौले अविजित १७ र दिप्ति शर्माले १४ रन बनाए ।

अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै अमनजोत कौर

अस्ट्रेलियाका लागि  एनाबेल सदरल्यान्ड र जर्जिया वारेहमले समान दुई तथा एश्ले गार्डनर र मेगन स्कटले एक विकेट लिए ।

पहिलो खेलमा भारत नौ तथा दोस्रो खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी भएका थिए ।