प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

एपिएफले दियो कोशीलाई १ सय १५ रनको लक्ष्य

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा कोशी प्रदेशसामू १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको  एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय १४ रनको योगफल तयार पारेको थियो । 

एपिएफका लागि इन्दु बर्माले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन् । यसैगरी ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाए ।

कोशीका लागि अप्सरी बेगमले चार ओभरमा रन २१ खर्चिदै तीन विकेट लिइन् । उनले २० औं ओभरमा पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थपा र तेस्रो बलमा सोनु खड्कालाई आउट गराउँदै ह्याट्रिक पूरा गरेकी थिइन् । यसैगरी एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले समान एक विकेट लिए । 

जारी प्रतियोगितामा एपिएफ र कोशी तेस्रोपटक आमने सामने हुँदैछन् । यसअघि एपिएफले लिग चरणमा ९२ तथा पहिलो क्वालिफायरमा ५२ रनको जित निकालेको थियो ।

अपराजित रहँदै फाइनलको यात्रा तय गरेको एपिएफ फाइनलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ ।  यता कोशी प्रदेशपनि एपिएफविरुद्धको हारको शृंखलालाई अन्त्य गर्दै च्याम्पियन बन्ने लक्ष्यमा छ । कोशीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशलाई नौं विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।