प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपः सानदार जित निकाल्दै बागमती प्लेअफमा

काठमाडौं । कर्णाली प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ ।

बागमतीको यो जितसँगै सुदूरपश्चिम प्रदेशले पनि प्ले अफमा स्थान बनायो । यो नतिजासँगै ६ खेलमा आठ अंक जोडेको बागमती चौथो स्थानमा छ । ६ वटै खेलमा पराजित कर्णाली विनाअंक पुछारमा छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहीबार कर्णालीले प्रस्तुत गरेको ४३ रनको लक्ष्य बागमतीले ४.५ ओभरमा कुनैपनि विकेट नगुमाइ पूरा गर्यो । बागमतीका लागि याशु पाण्डेले २५ र हेलिशा गुरुङले १३ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि श्रुती बुढाले १६ र बिना थापाले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि खुसी डंगोलले चार, संस्कृति फुयालले दुई तथा सोनी पाख्रिन र विपिशा शाहीले समान एक विकेट लिए ।