प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपः मधेशले लुम्बिनीलाई हरायो

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार लुम्बिनी प्रदेशमाथि आठ विकेटको जित निकालेको छ ।

दोस्रो जितसँगै मधेशको ६ खेलबाट चार अंक छ । चौथो पराजय ब्यहोरेको लुम्बिनीले पनि समान खेलबाट चार अंक नै जोडेको छ ।

मुलपानी क्रिकेट मैदान ( माथिल्लो) मा लुम्बिनीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य मधेशले १८.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

मधेशका लागि पूजा महतोले ५९ बलमा पाँच चौकाको मद्दतले अविजित ६० रनको योगदान दिइन् । यसैगरी अनुराधा चौधरीले १७ र सरस्वतीकुमारी चौधरीले अविजित १२ रन बनाए ।

तेस्रो विकेटका लागि पूजा र सरस्वतीले अविजित ४९ रनको साझेदारी गरे । लुम्बिनीका लागि कमला घर्ती मगर र सुस्मिता भुसालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले ६४ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६४ रनको योगदान गरिन् । यसैगरी कप्तान सरस्वती घर्ती मगरले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेशका लागि साक्क्षी यादवले दुई तथा पूजा महतो, कप्तान कविता गौतम र आरती महतोले समान एक विकेट लिए ।