लिटल फ्लावर प्रिमियर लिग

एलपिएलः धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्टस क्लब विजयी

धनगढी । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)  को आठौँ संस्करणअन्तर्गत सोमबार भएका खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्टस क्लब विजयी भएका छन्।

धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पस ४३ रन तथा धनगढी स्पोर्टस क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गरे ।

फाप्ला क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको सोमबारको पहिलो खेलमा १ सय २५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले निर्धारित १५ ओभरमा ब्याटिङ गरे पनि नौं विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो।

कैलालीका लागि गणेश ऐरले १७ र पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

धनगढी क्रिकेट एकेडेमी लागि निरज ऐरले चार तथा अनिश अवस्थी र मान साउदले समान विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १ सय २४ रनको योगफल तयार पारेको थियो ।

धनगढीका लागि कप्तान विजय रानाले ४१, हृतिक थापाले अविजित ३७, निरज ऐरले २१ रन बनाए। कैलालीका लागि अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले समान विकेट लिए।

समुह ‘ए’ अन्तर्गतको खेलमा १सय ६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्ला १५.२ ओभरमा ९४ रनमै समेटियो ।

कैलालीका लागि दिपक टमाटाले ३३ तथा बिनोद नाथ र नरेन साउदले समान १३ रन योगदान दिए।

धनगढी स्पोर्टसका लागि राज भट्ट र दिपक चन्द ठकुरीले समान तीन तथा नारायण जोशीले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ राजेको धनगढी स्पोर्टसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै  १ सय ६६ रनको योगफल तयार पारेको थियो ।

धनगढी स्पोट्सका लागि लागि आयुष्मान बमले ४५, नारायण जोशीले ३५, आयुब चन्दले ३२ र सुनिल धमलाले २५ रन बनाए।

कैलालीका लागि लागि  नरेन साउद तीन तथा राहुल केसी र डबल ऐरले समान एक विकेट लिए।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे सुदूरपश्चिमाञ्चल एकेडेमी र घोडाघोडी क्रिकेट एकेडेमी तथा दिउँसो १ बजे शुक्लाफाँटा ब्ल्याकबक्स र खप्तड इन्डोरबीच हुनेछ।