श्रीलंकन क्रिकेट

निलम्बनमा परेको श्रीलंकन क्रिकेट बोर्ड अदालतद्धारा पुनः स्थापित

काठमाडाैं । आइसीसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतसँग ३ सय २ रनले पराजित भएपछि सरकारले निलम्बन गरेको श्रीलंकन क्रिकेट बोर्डलाई अदालतले पुनः स्थापना गरेको छ ।  

श्रीलंकाको पुनरावेदन अदालतले मंगलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको हो । साथै अदालतले सुनुवाइ पूरा नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली पनि गरेको छ।

सोमबार श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको छ। ‘अदालतले मुद्दाको पुनः सुनुवाइ नगरेसम्म बोर्डको पुनःस्थापना दुई साताका लागि हो,’ अदालतका एक अधिकारीले भने।

गत बिहीबार भारतविरुद्धको खेलमा श्रीलंका ५५ रनमा अल आउट भएको थियो । भारतसँगको फराकिलो हारपछि श्रीलकंन क्रिकेट बोर्डका अध्यक्ष शम्मी सिल्भाले राजीनामा दिने घोषणा गरेका थिए । 

अध्यक्ष सिल्भाले राजीनामा दिने घोषणा गरेपछि श्रीलंकाका खेलमन्त्री रोशन रणसिन्धेले सोमबार बोर्ड नै निलम्बन गरेका थिए । बोर्ड निलम्बनपछि मन्त्री रणसिन्धेले विश्वकप विजेता पूर्वकप्तान अर्जुन रणतुङ्गाको अध्यक्षतामा सात सदस्यीय अन्तरिम समिति गठन गरेका थिए ।