आइसिसी एकदिवसीय विश्वकप

अफगानिस्तानले दियो अस्ट्रेलियालाई २ सय ९२ रनको लक्ष्य

काठमाडौं । इब्राहिम जाद्रनको शतकप्रेरित अफगानिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियासामू २ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुम्बईस्थित वान्खडे क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ९१ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि जाद्रनले १ सय ४३ बलमा आठ चौका र तीन छक्काको मद्दतले अविजित १ सय २९ रनको योगदान गरे । यसैगरी राशिद खानले अविजित ३५, रहमत शाहले ३०, कप्तान हस्मतुल्लाह शाहिदीले २६, अज्मतुल्लाह ओमजाइले २२, रहमुनुल्लाह गुबार्जले २१ र मोहम्मद नाबीले १२ रन जोडे ।

जाद्रनले दोस्रो विकेटका लागि शाहसँग ८३, छैटौं विकेटका लागि खानसँग अविजित ५८ र तेस्रो विकेटका लागि शाहिदीसँग ५२ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि जोश हेजलउडले दुई तथा मिचेल स्टार्च, ग्लने म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए ।