आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः न्युजिल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा

काठमाडौं । न्युजिल्यान्डमाथि सय ९० रनको फराकिलो जित निकाल्दै दक्षिण अफ्रिका भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै दक्षिण अफ्रिकाले सात खेलमा १२ अंक जोडेको छ । लगातार तेस्रो पराजय व्यहोरेको न्युजिल्यान्ड समान खेलबाट आठ अंकका साथ चौथो स्थानमा झरेको छ । 

पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा बुधबार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १ सय ६७ रनमै समेटियो ।

न्युजिल्यान्डका लागि लेन फिलिप्सले ५० बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी विल योङ्गले ३३ र ड्यारिल मिचेलले २४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले चार, मार्को यानसनले तीन, जेराल्ड कोएट्जीले दुई र कागिसो रबाडाले एक विकेट लिए ।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३ सय ५७ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि रास्सी भान डेर डुसेनले १ सय १८ बलमा नौ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १ सय ३३ रनको योगदान गरे ।  क्विनटन डिककले १ सय १६ बलमा १० चौका र तीन छक्काको मद्दतले १ सय १४ रन बनाए ।

यसैगरी डेविड मिलरले ३० बलमा चार छक्का र दुई चौकाको मद्दतले ५३ र हेन्ड्रिक क्लासेनले अविजित १५ रन जोडे ।

डुसेनले दोस्रो विकेटका लागि डिककसँग २ सय तथा तेस्रो विकेटका लागि मिलरसँग ७८ रनको साझेदारी गरे ।न्युजिल्यान्डका लागि टिम साउथीले दुई तथा ट्रेन्ट बोल्ट र जेम्स निशमले समान एक विकेट लिए ।