काठमाडौं । आईसिसी ट्वान्टी २० विश्वकप छनोटअन्तर्गत समूह ‘ए’ को विजेता बन्न आज (बिहीबार) नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल विहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । प्रतियोगितामा समान दुई खेल खेलका दुबै टोली अपराजित छन् । तेस्रो खेलमा समेत दुबै टोलीको लक्ष्य जित छ ।
दुई खेलबाट समान दुई अंक भएपनि ओमान नेटरनरेटमा शीर्षस्थानमा छ । नेपाल दोस्रो स्थानमा रह्यो । दुबै टोली एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
यता, मलेसिया र सिंगापुर क्रमशः तेस्रो र चौथो स्थानमा छन् । दुबै आज १ बजे प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताबाट बाहिरिसकेका दुबै टोली सान्त्वना जितको खोजीमा छन् ।
घरेलु मैदानमा सानदार प्रदर्शन गरिरहेको रोहितकुमार पौडेल कप्तानीको नेपाल आज पनि सानदार प्रदर्शन गर्ने योजनामा छ । ‘हाम्रो लक्ष्य विश्वकप हो । सन्२०१४ पछि विश्वकप खेल्ने योजनासहित मैदान उत्रिएका छौं । घरेलु समर्थकको साथ हरेक खेल जित्दै अगाडी बढ्छौं,’ रोहितले भनेका छन् ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल र ओमानबीचको हेड टु हेडमा नेपाल निकै बलियो छ । हालसम्मको चार भेटमा नेपाल तीन खेलमा विजयी भएको हो । पछिल्लो भेट सन् २०२२ फेब्रुअरी २४ मा भएको थियो । जहाँ नेपाल ९ विकेटको जित निकाल्न सफल भएको हो ।
अन्य खेलमा नेपालले ३९ रन, ६ विकेटको निकाल्दा सन् २०१९ मा भएको पहिलो भेटमा ओमान ६ विकेटले विजयी भएको हो ।
आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल्ने टोली आगामी वर्ष हुने ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछ ।