एसिसी एसिया कप

एसिसी एसिया कपः नेपालले दियो भारतलाई २ सय ३१ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ शेखको अर्धशतकप्रेरित नेपालले एसिसी एसिया कपमा भारतसामू २ सय ३१ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

क्रिकेट पण्डितहरुको अनुमान विपरित उत्कृष्ट प्रदर्शन गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३० रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि आसिफले ९७ बलमा आठ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे ।

यससँगै आसिफ एसिसी एसिया कपमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

 आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।  कुशल ३८ रन बनाएर आउट भए ।

यस खेलमा ६ रन बनाएसँगै कुशलले  १ हजार रन पूरा गरेका थिए ।  ४६ एकदिवसीय अन्तर्राष्ट्रिय  खेलमा कुशलले एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् ।

कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि कप्तान रोहितकुमार पौडेल र ओपन आसिफ शेखले यो उपलब्धि हासिल गरेका थिए । 

आसिफ र कुशलले दिलाएको राम्रो सुरुआतलाई सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले पनि निरन्तरता दिए ।

सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४८, दीपेन्द्रले २९ र गुल्सनले २३ रन बनाए । सातौं विकेटका लागि सोमपाल र दिपेन्द्रले ५० रनको साझेदारी गरेका थिए ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तथा मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए ।