अभ्यास खेल

पहिलो अभ्यास खेलमा नेपाल पराजित

फाइल फोटो

काठमाडौं । नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्यको घरेलु टोली ब्लूमफिल्डले २४.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

ब्लूमफिल्डका लागि श्रीलंकाबाट यू-१९ क्रिकेट खेलिसकेका हसिता बोयागोडाले ५३ बलमा समान सात चौका र छक्काको मद्दतमा सर्वाधिक ९० रनको योगदान गरे ।यसैगरी अशान फेनान्डोले ५४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५६ र सानदुन विराकोडीले ३१ रन बनाए ।

नेपालका लागि सूर्य तामाङले र प्रतिश जिसीले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि अर्जुन साउदले १ सय १३ बलमा चार चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, सोमपाल कामी र करण केसीले समान ११ र पवन सर्राफले १० रन बनाए ।

ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।

अब नेपालले शुक्रबार तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।