आइसिसी एकदिवसीय विश्वकप छनोट

जिम्बावेलाई हराउँदै श्रीलंका विश्वकपमा छनोट

काठमाडौं । पाथुम निसंकाको शतकप्रेरित श्रीलंका घरेलु टोली जिम्बावेमाथि ९ विकेटको सानदार जित निकल्दै आइसिसी एकदिवसीय विश्वकपमा छनोट भएको छ ।

जितसँगै ४ खेलमा ८ अंक जोडेको श्रीलंका १ खेल अगावै विश्वकपमा छनोट भएको हो । प्रतियोगितामा पहिलो पराजय ब्यहोरेको जिम्बावेको समान खेलबाट ६ अंक छ ।

हरारेस्थित क्विन्स स्पोर्टस क्लबमा आइतबार सम्पन्न सुपर सिक्सको खेलमा जिम्बावेले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले  ३३.१ ओभरमा १  विकेट गुमाउँदै भेट्टायो ।

श्रीलंकाका लागि निसंकाले १ सय २ बलमा १४ चौकाको मद्दतमा अविजित १ सय १ रन बनाए । यसैगरी दिमुथ करुणारत्नेले ३५, कुशल मेन्डिसले अविजित २५ रन जोडे ।

निसंकाले पहिलो विकेटका लागि करुणारत्नेसँग १सय ३ तथा दोस्रो् विकेटका लागि मेन्डिससँग अविजित ६६ रनको साझेदारी गरे ।

जिम्बावेका लागि १ मात्र विकेट रिचर्ड नगर्भाले लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बवेले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६५ रनको योगफल तयार पारेको थियो ।

जिम्बावेका लागि सेन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५६ रन बनाए । यसैगरी सिकन्दर राजाले ३१, रायन बर्लले १६, ब्रड इभन्स र कप्तान क्रेइग इर्भिनले समान १४ तथा लुक जोन्गवेले १० रन जोडे ।

चौथो विकेटका लागि विलियम्स र राजाले ६८ रनको साझेदारी गरे ।

श्रीलंकाका लागि महेश थिक्सेनाले ४, दिलसन मधुसंका ३, मथिशा पथिरानाले २ तथा दासुन सनकाले १ विकेट लिए ।