ललितपुर मेयर्स कप

सीता सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबकी कप्तान सीता राना मगर ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

एपिएफलाई विजेता बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी सीताले प्रतियोगिताका पाँच खेलमा दुई अर्धशतकको मद्दतमा दुई सय १४ रन बनाउनुका साथै आठ विकेट लिइन् ।

सीता प्रतियोगिताको फाइनलसहित चार खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन् । उनले फाइनलमा कोशी प्रदेशविरुद्ध अविजित ७९, लिग चरणमा सुदूरपश्चिमविरुद्ध अविजित ५२, मधेस प्रदेशविरुद्ध अविजित ४५तथा ललितपुर मेयर्स-११ र कोशीविरुद्ध समान १९ रन बनाएकी थिइन् ।

यसैगरी सीताले लिग चरणमा कोशी र मधेसविरुद्ध समान तीन तथा ललितपुर र सुदूरपश्चिमविरुद्ध समान एक विकेट हात पारिन् ।

सर्वोत्कृष्ट घोषित सीताले ३० हजार रुपैयाँ प्राप्त गरिन् । 

यसैगरी उपविजेता कोशीकी कप्तान रुबिना क्षेत्री उत्कृष्ट ब्याटर तथा निशा शाह उत्कृष्ट बलर चुनिए ।

रुबिनाले पाँच खेलमा एक सय ३९ रन बनाएकी थिइन् । उनले लिग चरणमा ललितपुरविरुद्ध १३, एपिएफविरुद्ध २४, सुदूरपश्चिमविरुद्ध २८, मधेशविरुद्ध ३९ तथा फाइनलमा एपिएफविरुद्ध ३५ रन बनाएकी थिइन् ।

निशाले प्रतियोगिताका पाँच खेलमा ६ विकेट लिइन् । निशाले लिग चरणमा ललितपुरविरुद्ध तीन , मधेसविरुद्ध  दुई र एपिएफविरुद्ध एक विकेट लिएकी थिइन् ।

रुबिना र निशाले जाही १५ हजार  रुपैयाँ प्राप्त गरे ।

एपिएफले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहिबार सम्पन्न फाइनलमा कोसीलाई ५४ रनले परावित गर्दै उपाधिका ह्याट्रिक गरेको थियो ।