ललितपुर मेयर्स कप

उपाधिमा एपिएफको ह्याट्रिक

काठमाडौं । कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विजेता विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ ।

एपिएलले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहिबार सम्पन्न फाइनलमा एपिएफले प्रस्तुत गरेको एक सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै एक सय रन मात्र बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन जोडिन् । यसैगरी लकिता राजजंशीले अविजित २१ र अप्सरी बेगमले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि विनु बुढा मगरले दुई तथा सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ५४ रनको योगफल तयार पारेको थियो ।

यो ललितपुर मेयर्स कपको सर्वाधिक ठूलो योगफल हो । यस अघि सन् २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स-११ ले लुम्बिनी प्रदेशविरुद्ध एक सय ४४ रन बनाएको थियो ।

एपिएफका लागि कप्तान सीता राना मगरले ६८ बलमा नै चौका र दुई छक्काको मद्दतमा अविजित ७९ रन जोडिन् ।यो ललितपुर मेयर्स कपको एक इनिङमा सबैभन्दा उच्च ब्यक्तिगत योगफल हो । यसअघि पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले  लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन् ।

यसैगरी इन्दु वर्मा ४१ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ५१ रनमा अविजित रहिन् ।

दोस्रो विकेटका लागि सीता र  इन्दुले अविजित एक सय ३६ रनको साझेदारी गरेका थिए ।

यो ललितपुर मेयर्स कपमा कुनै पनि विकेटको लागि भएको उच्च साझेदारी हो । यसअघि पहिलो संस्करणमै ललितपुरका सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध  अविजित एक सय आठ रनको साझेदारी गरेका थिए ।

कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् ।