आइसिसी विश्वकप छनोट प्ले अफ

नामिबियाले पिएनजीलाई हरायो

फाइल तस्बिर

काठमाडौं । घरेलु टोली नामिबियाले आइसिसी पुरुष विश्वकप छनोट अन्तर्गत प्ले अफको आफ्नो दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ४८ रनले पराजित गरेको छ ।

यस जितसँगै नामिबियाले दुई खेलमा दुई अंक जोड्दा लगातार दोस्रो परावय ब्यहोरेको पिएनजी अंक विहिन छ ।

विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा बुधबार नामिबियाले प्रस्तुत गरेको तीन सय ८२ रनको लक्ष्य पछ्याएको पिएनजी ४६.२ ओभरमा तीन सय ३३ रनमा समेटियो ।

पिएनजीका लागि चार्ल्स अमिनीले ७५ बलमा समान आठ चौका र छक्काको मद्दतमा एक सय नौ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यसैगरी कप्तान असाद भालाले ६१ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५७, सेसे बाउले ४४ बलमा सात चौका र दुई छक्काको मद्दतमा ५४, किप्लिन डोरिगाले ४७, चाड सोपरले २८ र राइली हिकुरेले १२ रन जोडे ।

पाँचौ विकेटका लागि अमिनी र भालाले एक सय ५३ तथा दोस्रो विकेटका लागि बाउ र डोरीगाले ९२ रनको साझेदारी गरेका थिए ।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्ज र रुवेन ट्रम्पलम्यानले समान तीन, कप्तान जेरार्ड इरस्मरले दुई तथा बेन शिकोन्गो तथा शन फोउचले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ८१ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि  जेरार्ड इरस्मसले एक सय १३ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा एक सय २५ रन बनाए । यसैगरी निकोलस डेभिनले ७९ बलमा १३ चौका र एक छक्काको मद्दतमा ९०, लोफ्टी इटनले ५९ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६१, जेन ग्रिनले ३३, कार्ल ब्रिकेनस्टोले अविजित १९, रुवेन ट्रम्पलम्यानले १७ र  पिक्की या फ्रान्सले १३ रन जोडे ।

इरस्मसले तेस्रो विकेटका लागि डेभिनसँग एक सय ५१ तथा चौथो विकेटका लागि इटनसँग एक सय दुई रनको साझेदारी गरेका थिए ।

पिएनजीका लागि सिमो कामियाले पाँच, काबुआ मोरियाले दुई तथा कप्तान असाद भालाले एक विकेट लिए ।

पहिलो खेलमा नामिबिया अमेरिकासँग ८० तथा पिएनजी युएईसँग २१ रनले पराजित भएका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार नै सम्पन्न अर्को खेलमा क्यानाडाले अमेरिकामाथि २६ रनको जित निकालेको छ ।