आइसिसी टु

नामिबियाले युएईलाई हरायो

काठमाडौं । माइकल भान लिंगनको उत्कृष्ट ब्याटिङप्ररित नामिबियाले आइसिसी विश्वकप लिग टु अन्तर्गतको आफ्नो अन्तिम खेलमाघरेलु टोली युएईमाथि सात विकेटका सहज जित निकालेको छ ।

यो नतिजासँगै लिग टुका सबै खेल खेलेको नामिबिया ३६ खेलमा १९ जित र १६ हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा रहँदा पराजय ब्यहोरेको युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

दुई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार युएईले प्रस्तुत गरेको एक सय ६७ रनको लक्ष्य नामिबियाले २८.२ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।  

नामिबियाका लागि लिंगनले ५३ बलमा १० चौका र एक छक्का मद्दतमा अविजित ७१ रन जोडे । यसैगरी  लो ह्यान्डर लरेन्सले ४७ र कप्तान जेरार्ड इरस्मसले  १८ रन बनाए ।

दोस्रो विकेटका लागि लिंगन र लरेन्सले  ७६ रनको साझेदारी गरेका थिए ।

युएईका जुनैद सिद्धिकी, जाहुर खान र राहुल भाटियाले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६६ रनको योगफल तयार पारेको थियो । ।

युएईका लागि कप्तान सिपी रिजवानले एक सय ४० बलमा दुई चौकाको मद्दतमा अविजित ६० जोडे । यसैगरी रोहन मुस्ताफाले २५ वृत्य अरविन्दले १८, कार्तिक मैयप्पनले १५ र आसिफ खानले १० रन बनाए ।

नामिबियाका लागि टान्गिनी लुंगामेनी,बेन सिकोन्गो र कप्तान जेरार्ड इरस्मसले समान दुई  तथा रुबेन ट्रम्पलम्यान, शन फुची र बेर्नार्ड स्कोल्ट्जले समान एक विकेट लिए ।  

लिग टुका सबै खेल खेलिसकेका स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित पहिलो तथा दोस्रो स्थानमा छन् । स्कटल्यान्ड र ओमानले जिम्बाब्वेमा विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ ।

बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ अंक छ । छैटौं स्थानको नेपालको २८ खेलमा २६ अंक छ भने सातौं स्थानको पपुवा न्युगिनीले २८ खेलमा पाँच अंक जोडेको छ ।