भद्रपुर झापा गोल्डकप

रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

 काठमाडौं । संकटा क्लबलाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मेची रंगशालामा शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीलाई जित दिलाउन चेतन केसीले निर्णायक गोल गरेका थिए ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको एक सय एक औं मिनेटमा सन्तोष केसीको फ्रिकिक प्रहारलाई चेतनले हेडमार्फत पोस्टको दिशा दिएका थिए । 

आर्मी भुटानको डुक ल्यहायु एफसीलाई २-० तथा संकटले आयोजक भद्रपुर ब्लेजर्सलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

अब आर्मीले उपाधिका लागि मछिन्द्र फुटबल क्लब र एपिएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।