आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट

नेपालको फराकिलो जित

काठमाडौं । नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा कुवेतमाथि दुई सय ४३ रनको फराकिलो जित निकालेको छ ।

यस जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्दा लगातार दोस्रो हार ब्यहोरेको कुवेत अंक विहिन छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदा कुवेतले हङकङसँग एक विकेटको पराजय ब्यहोरेको थियो ।

युएईको अजमनस्थित मलेक क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा  नेपालले प्रस्तुत गरेको तीन सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा एक सय रनमै समेटियो ।

कुवेतका लागि कप्तान जुड क्रिस्टोफर साल्दान्हाले सर्वाधिक २६ रन जोडे । यसैगरी युसुफ महम्मदले १९ र हेत किशोरभाइ हिन्सुले १६ रन बनाउँदा अन्य ब्याटरले दोहरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कँडेलले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ४३ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि देव खनाले एक सय १७ बलमा नौ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक एक सय २५ रन बनाए । यसैगरी अर्जुन कुमालले एक सय १२ बलमा १२ चौकाको मद्दतमा एक सय आठ, विशालविक्रम केसीले २३, दीपक डुम्रेले अविजित २०, दीपक बोहराले १९ र दिपक बोहराले १३ रन बनाए ।

तेस्रो विकेटका लागि देव र अर्जुनले एक सय ७० रनको साझेदारी गरेका थिए ।

कुवेतका लागि ह्यारी थोमस र अर्श साहिल काज्मीले समान दुई तथा हाइबर अली र जय महेशकुमार मेहताले समान एक विकेट लिए ।