एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

आर्मीमाथि सोझो सेटमा जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

फाइल फोटो

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ ।

हेल्प नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न फाइनलमा  साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले खेल २५–२१, २६–२४ र २५–२३ ले आफ्नो पक्षमा पारेको हो । तेस्रो सेटमा लगातार पछि परे पनि हेल्प नेपालले अन्त्य तिर उत्कृष्ट पुनरागमन गर्न सफल भएको थियो ।

हेल्प नेपालले तेस्रो सेटमा २०–१७ ले पछि परेको अवस्थालाई उल्टाएको हो । उपाधिसँगै हेल्प नेपालले चार लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता आर्मीले दुई लाख रुपैयाँ प्राप्त ग¥यो ।

सेमिफाइनलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २४–२६, २५–१७, २०–२५ र १५– ८ तथा आर्मीले नेपाल एपिएफ क्लबलाई २५–२३, २५–१६ र २५– १७ ले पराजित गरेका थिए ।

यसैगरी आइतबार नै सम्पन्न खेलमा नेपाल पुलिस क्ललाई १५–२५,२५–२०,२५–२३ र २५–१८ ले पराजित गर्दै एपिएफले पुरुषतर्फ पनि तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो स्थान हासिल गरेको एपिएफले एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

महितर्फ विभागीय टोली नेपाल पुलिस क्लब साबिकको विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई २२–२५,२५–१७, २५–२७ र २५– १९ र १५–११ ले हराउँदै च्याम्पियन बन्यो । 
 

उपाधिसँगै पुलिसले चार लाख रुपैयाँ प्राप्ता गर्दा उपविजेता न्यु डायमन्डले दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।

आइतबार नै सम्पन्न खेलमा आर्मीलाई २५–१६, २५–२०,२१–२५,२१–२५ र १५–७ ले हराउँदै एपिएफले महिलातर्फ तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो स्थान हासिल गरेको एपिएफले एक लाख रुपैयाँ प्राप्त गरेको छ ।