एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

लगातार तेस्रो जित निकाल्दै पुलिस समूह विजेता

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ समूह विजेताका रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ ।

पुलिसले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले लगातार तेस्रो जित निकालेको हो ।

पुलिसले खेल २५–२३,२५–२१,२४–२६ र २५–१५ ले आफ्नो पक्षमा पारेको हो । यस जितसँगै पुलिस तीन खेलमा ६ अंक जोड्दै समूह ‘सी’ को समूह विजेता बनेको हो ।

गण्डकीको पनि क्वाटरफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ ।पुलिसले अब क्वाटरफाइनलमा दावाली मिलन क्लबसँग खेल्नेछ । दावाली समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।

पुरुषतर्फ बुधबार नै सम्पन्न खेलमा ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले न्युटन भलिबल एकेडेमीलाई २५–२३,२५–२०,१८–२५,२२–२५ र १५–९ ले पराजित गरेको थियो ।