भिएनएल

भिएनएलः टर्की ब्राजिलसँग पराजित

ब्रासिलिया । साबिक उपविजेता ब्राजिलले एफआइभिबी भलिबल वुमन्स नेसन्स लिग (भिएनएल) को प्रारम्भिक चरणमा टर्कीलाई ३–१ को सेटमा हराएको छ ।

ब्राजिलको राजधानी ब्रासिलियास्थित निल्सन नेल्सन जिम्याजियममा सम्पन्न पुल–३ को खेलमा ब्राजिलले टर्कीलाई १९–२५, २५–२३, २५–२३, २५–२३ को सेटमा पराजित गर्यो । योसँगै चार जित र एक खेलमा हारसहित १२ अंक जोडेको ब्राजिल तालिकाको चौथो स्थानमा छ । टर्की तीन जित र दुई हारसहित ९ अंकका साथ छैठौं स्थानमा छ । गतवर्ष टर्की तेस्रो भएको थियो ।

यस्तै, पुल– ३ को अर्काे खेलमा डोमिनिकन रिपब्लिकले दक्षिण कोरियालाई २५–२१, २५–१७, २५–१३ को सोझो सेटमा हरायो । लिगमा पहिलो जित निकालेको डोमिनिकनले तीन अंक जोड्दै तालिकाको १२औं स्थानमा छ । यस्तै, अंकविहीन रहेको दक्षिण कोरिया पुछारमा छ ।

फिलिपिन्समा भएको पुल–४ को खेलमा पोल्यान्डले थाइल्यान्ड २२–२५, २७–२९, २५–१६, २५–१६ को सेटमा हरायो । यो जितसँगै पोल्यान्डले तीन जित र एकसहित आठ अंक बनाएको छ । पोल्यान्ड तालिकाको नवौं स्थानमा छ । यता, थाइल्यान्ड चार जित र एक हार बेहोर्दै ११ अंकसहित पाँचौं स्थानमा छ ।

बिहीबारै हुने क्यानडा र बेल्जियम, बुल्गेरिया र जापान तथा सर्बिया र दक्षिण कोरियाको खेल केही समयमा सुरु हनेछन् ।

यसअघि बुधबार भएको पुल–४ को अन्तिम खेलमा चीनले बेल्जियमलाई २५–१९, २५–२२, २५–१४ को सोझो सेटमा हराएको थियो । यो जितसँगै चीनले चार जित र एक हार बेहोर्दै १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । बेल्जियम एक जित र चार हारसहित तालिकाको १३औं स्थानमा छ ।

लिगमा जापान १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।