सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

राष्ट्रिय महिला बिच भलिबलः सेमिफाइनल समीकरण पूरा

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बीच भलिबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।  

पाल्पाको तानसेनस्थित रानीमहलमा शुक्रबार सम्पन्न क्वार्टरफाइनलबाट लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । 

कालीगण्डकीको किनारमा भएको बिच भलिबलको पहिलो क्वार्टरफाइनल खेलमा समूह ‘ए’ को विजेता एपिएफलाई समूह ‘सी’ को उपविजेता लुम्बिनीले १७–२१, १३–२१ को सोझो सेटमा सहज जित निकाल्यो ।   राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व सदस्य रेश्मा भण्डारीको नेतृत्वमा मैदान उत्रिएको एपिएफलाई भावना डाँगीको कप्तानीमा उत्रिएको लुम्बिनीले प्रतियोगितामा पहिलो पटक जित निकालेको हो । जितसँगै लुम्बिनी सेमिफाइनमा पुग्ने पहिलो टोली बन्याे।  

यसअघि लुम्बिनी पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।   यस्तै, क्वार्टरफाइनलको दोस्रो खेलमा समूह ‘बी’ को विजेता सुदूरपश्चिमले समूह ‘डी’ उपविजेता बागमती प्रदेशलाई २१–८, २१–७ को सोझो सेटमा हरायो । सुदूरपश्चिम भागरथी जोशी र बागमती मोनिका महतोको कप्तानीमा मैदान उत्रिएका थिए ।   

तेस्रो क्वार्टरफाइनल खेलमा कमला पुन, मनिषा चौधरीको जोडी समूह ‘सी’ को विजेता पुलिसले जोडी अञ्जना लिम्बु र प्राची गौतमको समूह ‘ए’ को उपविजेता प्रदेश एकमाथि २१–१, २१–६ को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

बिहीबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा समूह ‘डी’ को विजेता गण्डकीले समूह ‘बी’ को उपविजेता कर्णालीलाई सोझो सेटमा हराउँदै सेमिफाइनल समीकरण पूरा गरेको छ ।   पवित्रा विसी र रेविना घर्ती मगरको जोडी गण्डकीले आहाराकुमारी शाही र हिरा जैसीको जोडी कर्णालीमाथि २१–१२, २१–२३, १५–८ को सेटमा जित निकाल्यो ।   

शुक्रबारै हुने सेमिफाइनलका पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिमबीच खेल केही समयमा सुरु हुनेछ । सेमिफाइनलको दोस्रो खेलमा पुलिस र गण्डकीले प्रतिस्पर्धा गर्नेछन् ।   सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सुरु भएको तीन दिने प्रतियोगितामा ९ टिम सहभागी थिए । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ ।