सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

लुम्बिनी फाइनलमा

पाल्पा ।  लुम्बिनी प्रदेश शुक्रबार सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा सम्पन्न पहिलो सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

भावना डांगी र सरस्वती कट्टेलको जोडी लुम्बिनीले भागरथी जोशी र बबिता बोहराको जोडी सुदूपश्चिममाथि २१-१७, २१-१४ को सेटमा जित निकाल्यो ।

लुम्बिनीले यसअघि क्वार्टरफाइनलमा घरेलु प्रतियोगितामा सर्वाधिक सफल टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई सोझो सेटमा हराउँदै सेमिफाइनलला स्थान पक्का गरेको थियो ।

यस्तै, दोस्रो सेमिफाइनलमा कमला पुन र मनिषा चौधरीको जोडी नेपाल पुलिस क्लब र पवित्रा विसि र रेविना घर्ती मगरको जोडी गण्डकी प्रदेशबीच खेल हुँदैछ ।

शुक्रबारै भएको क्वार्टरफाइनलमा पुलिसले प्रदेश एक र गण्डकीले कर्णाली प्रदेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो ।

लुम्बिनीले पुलिस र गण्डकीको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार बिहान १० बजे सुरु हुनेछ ।