लेभरकुसनको अपराजित यात्रा कायम

बर्लिन, (खेलाडी)- बायर लेभरकुसनले अपराजित यात्रालाई कायम राख्ने क्रममा शनिबार राति औसबर्गमाथि ४-१ को जित हासिल गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा यथावत रहेको छ । 

विपक्षी खेलाडीबाट दुई आत्मघाति गोलको उपहार पाएपछि लेभरकुसन सुरुमै खेल नियन्त्रणमा राख्न सफल भएको थियो । 

लागोको आत्मघाति गोलबाट तेस्रो मिनेटमै अग्रता लिएको लेभरकुसनलाई दोस्रो गोल पनि विपक्षी खेलाडीबाटै उपहारस्वरुप प्राप्त भएको थियो । औसबर्गका फ्लोरियन नेडरलेच्नरले १४औं मिनेटमा अर्को आत्मघाति गोल गरेपछि लेभरकुसनको अग्रता दोब्बर भएको थियो । 

नेडरलेच्नरले ३०औं मिनेटमा एक गोल फर्काएपछि औसबर्गले खेलमा पुनरागमन जनाउने संकेत गरेको थियो । तर प्याट्रिक सिच र फ्लोरियन विट्जले अन्तिम समयमा गोल थपेपछि लेभरकुसन सहज जितको हकदार बन्यो । 

सिचले विट्जको पासमा ७५औं मिनेटमा गोल गरेका थिए भने समय सकिन नौं मिनेट बाँकी रहँदा केरेम डेमिर्बेको पासमा विट्जले गोल गरेका थिए ।

जितपछि लेभरकुसन तीन खेलमा सात अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा कायम छ । शनिबारै भिएफबी स्टुटगार्टमाथि ३-२ को जित हासिल गरेको फ्रेइबर्गको खातामा पनि समान सात अंक छ । तर गोलअन्तरमा माथि रहेको लेभरकुसन शीर्ष स्थानमा छ । 

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा मेइन्जले ग्वाटर फ्रुटमाथि ३-० को जित हासिल गर्दा एफसी कोल्नले बोचुमलाई २-१ ले हरायो । अर्मेनिया बेलेफिल्डले इन्ट्रयाक्ट फ्रयांकफर्टसँग १-१ को बराबरी खेल्यो ।