एभर्टनको सुखद सुरुआतको निरन्तरता

लन्डन, (खेलाडी)- ब्राइटन एण्ड होभ अल्बियन भ्रमणमा २-० को जित निकाल्दै एभर्टनले सिजनको सुखद सुरुआतलाई निरन्तरता दिएको छ ।

एलानको पासमा डेमाराई ग्रेको गोलबाट भ्रमणकारी एभर्टनले मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । 

टोलीका लागि ५८औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । सिमुस कोलम्यानलाई ब्राइटनका जोइल भेल्टम्यानले धकेलेपछि प्राप्त पेनाल्टीलाई काल्भर्ट लेविनले गोलमा परिणत गरेका थिए । 

जितपछि एभर्टन तीन खेलमा सात अंकका साथ शीर्ष स्थानमा वेस्ट ह्यामसँग अंक बराबरी गर्न सफल भएको छ । 

वेस्ट ह्यामले शनिबार क्रिस्टल प्यालेससँग २-२ को बराबरी नतिजामा चित्त बुझाएको थियो । 

घरेलु मैदानमा पाव्लो फोर्नाल्सको गोलबाट वेस्ट ह्यामले मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । तर ब्राइटनका कोनोर गालाघरले दुई गोल गरेपछि वेस्ट ह्याम जितबाट विमुख भयो । 

क्रिस्टियन बेंकेटेको पासमा ५८औं मिनेटमा बराबरी गोल गरेका गालाघरले ७०औं मिनेटमा दोस्रो पटक खेल बराबरीमा ल्याएका थिए । यसबीचमा ६८औं मिनेटमा मिचेल एन्टोनियोले वेस्ट ह्यामका लागि गोल गर्दै दोस्रो पटक घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

इङलिस प्रिमियर लिगमा शनिबारै मार्क अल्ब्राइटनको निर्णायक गोलमा लेस्टर सिटीले नर्विच सिटीमाथि २-१ को जित हासिल गरेको छ । 

जेमी भार्डीको गोलबाट आठौं मिनेटमा लेस्टर अघि लागेको थियो । भार्डीले रिकार्डो परेराको पासमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । 

मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै नर्विका टिमु पुक्कीले खेल बराबरीमा ल्याए । तर समय सकिन १४ मिनेट बाँकी रहँदा भार्डीको पासलाई अल्ब्राइटनले गोलमा परिणत गरेपछि लेस्टर स्पष्ट तीन अंक हासिल गर्न सफल भयो ।

प्रिमियर लिगमा शनिबारै भएका अन्य खेलमा एस्टन भिल्लाले ब्रेनफोर्डसँग १-१ को बराबरी नतिजा निकाल्दा न्युक्यासलले साउथह्याम्पटनसँग २-२ को बराबरीमा चित्त बुझायो ।