युरोमा स्कटल्यान्डसँग बदला लिँदै चेक गणतन्त्रको विजयी सुरुआत

ग्लास्गो, (खेलाडी)- चेक गणतन्त्रले दुई वर्षअघि युरोपियन नेशन्स कपअन्तर्गतका खेलमा स्कटल्यान्डसँग भोगेका दुई हारको एकैपटक बदला लिने क्रममा सोमबार साँझ २-० को जित हासिल गरेको छ । 

युरोपियन च्याम्पियनसिप (युरो २०२०) अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा प्याट्रिक सिचले दुई गोल गरेपछि ग्लास्गोको ह्‍याम्पडेन पार्कमा भ्रमणकारी टोलीले स्पष्‍ट तीन अंक हासिल गरेको थियो । 

स्कटल्यान्ड २३ वर्षपछि कुनै ठूलो अन्तर्राष्‍ट्रिय प्रतियोगितामा सहभागि भएको थियो । लामो समयपछिको पुनरागमनमा टोलीलाई घरेलु मैदान र दर्शकको पनि साथ थियो । तर स्कटल्यान्डले त्यसको उपयोग गर्न सकेन । पछिल्लो पटक स्कटल्यान्डले फ्रान्समा सम्पन्‍न विश्‍वकप १९९८ मा सहभागिता जनाएको थियो । 

सिचले पहिलो हाफको अन्तिम समयमा हेडमार्फत गोल गर्दै चेक गणतन्त्रको खाता खोलेका थिए । त्यसपछि उनले गरेको दोस्रो गोल १९८० मा युरो सुरु भएयताकै कीर्तिमान कायम गर्न सफल भयो । विपक्षी गोलकिपर अगाडि बढेको देखेपछि उनले ४९.७ यार्डबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । जुन युरोको इतिहासमै सबभन्दा लामो दुरीबाट गरिएको गोल थियो । 

दुई वर्षअघि युरोपियन नेशन्स कपअन्तर्गत दुई टोलीबीच भेट हुँदा दुवै लेगमा स्कटल्यान्डले चेक गणतन्त्रमाथि १-० को समान अन्तरमा जित हासिल गरेको थियो । 

ह्‍याम्पडेन पार्कमा १२ हजार दर्शकको उपस्थितीमा पाएको यो जितपछि चेक गणतन्त्र समूह ‘डी’मा तीन अंकका साथ शीर्ष स्थानमा छ । अघिल्लो दिन क्रोएसियामाथि १-० को जित हासिल गरेको इङ्ल्यान्डको खातामा पनि समान तीन अंक छ । तर गोलअन्तरमा चेक गणतन्त्र अगाडि छ । क्रोएसिया र स्कटल्यान्डको खातामा कुनै अंक छैन ।