इङ्लिस प्रिमियर लिग

उपाधि सम्भावना कायम राख्ने लिभरपुलको योजनामा धक्का

काठमाडौं । त्रिकोणात्मक उपाधि सम्भावना कायम राख्ने योजनामा रहेको लिभरपुललाई एभर्टनले धक्का दिएको छ । बुधबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा घरेलु टोली एभर्टनले उपाधि सम्भावना कायम राखेको लिभरपुललाई २–० ले हराएको हो ।

यो हारपछि लिभरपुलको उपाधि सम्भावना निकै कम बनेको छ । सँगै उपाधि दौडमा रहेका आर्सनल तीन अंकको अग्रता बनाएको छ । दुई खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । आर्सनल ३४ खेलबाट ७७ र लिभरपुलको ७४ अंक छ । सिटीले बाँकी दुबै खेल जितेको अवस्थामा शीर्ष स्थानमा उक्लनेछ ।

जितले एभर्टनले भने रेलिगेशन डर समाप्त गरेको छ । ३४ खेल खेलेको एभर्टन ३३ अंकसहित १६औं स्थानमा छ । एभर्टनले घरेलु मैदानमा   लिभरपुललाई सन् २०१० पछि हराएको हो ।

गूडिसन पार्कमा ३८ हजार समर्थकमाझ एभर्टनले २७औं मिनेटमा अग्रता बनायो । जेराड ब्रान्थवेटले गोल गरेका हुन् । पहिलो हाफमा एक गोल गरेको एभर्टनले दोस्रो हाफमा एक गोल थप्यो । ५८औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले दोस्रो गोल गर्दै सहज जित दिलाएका हुन् ।