युएस ओपन

जागरेभले युएस ओपनबाट नाम फिर्ता लिए

न्युयोर्क । विश्व नम्बर दुई एलेक्जेन्डर जागरेभले पूर्ण रुपमा चोटमुक्त नभएको भन्दै यसै महिनाको अन्तिमबाट सुरु हुने युएस ओपनबाट नाम फिर्ता लिएका छन् ।

जागरेभले कुर्कुच्चाको चोटमुक्त नभएकाले प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका छन् । फ्रेन्च ओपनअन्तर्गत राफेल नाडाल विरुद्धको  सेमिफाइनलका क्रममा जागरेभको कुर्कुच्चामा चोट लागेको थियो ।

जागरेभले सो चोटकै कारण वर्षको अन्तिम ग्रान्ड स्लाममा सहभागी नहुने घोषणा गरेका हुन् । दुई वर्षअघि युएस ओपनको फाइनल प्रवेश गरे पनि जागरेभ डोमिनिक थियमसँग पराजित भएका थिए । 
 

‘मैले कुर्कुच्चाको शल्यक्रिया गराएको थिए’, जागरेभले भने, ‘त्यसैले केही समय थप आराम गर्ने निर्णय लिएको हुँ । जसका कारण म युएस ओपनमा सहभागी हुन्न । म छिट्टै कोर्टमा फर्कनेमा आशाबादी छु ।’

युएस ओपन आगामी सोमबारबाट सुरु हुँदैछ । २१ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिचले प्रतियोगिता खेल्ने वा नखेल्नेबारे अझै निश्चित भएको छैन । जोकोभिचले कोभिड १९ विरुद्धको खोप लगाएका छैनन् । अमेरिका भ्रमणका लागि कोभिड १९ विरुद्धको खोप  अनिवार्य गरिएको छ ।