कराते

पुलिस टिम च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृती कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिसले सर्वाधिक १० स्वर्ण, दुई रजत र तीन कास्य गरि १५ पदक जित्यो।

पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो। प्रतियोगिताको शीर्ष तीन भित्र विभागीय टोली रहे। 

६ स्वर्ण, तीन रजत र पाँच कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो तथा एक स्वर्ण पाँच रजत र सात कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएका छन् ।

 सात प्रदेश भने स्वर्ण पदक जित्न असफल भए। ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमी हलमा शनिबार सम्पन्न प्रतियोगितामा बागमती प्रदेश दुई रजत र पाँच कास्य पदकका साथ चौथो भएको छ। 

गण्डकी प्रदेशले समान दुई रजत र कास्य पदक जित्दा लुम्बिनीले एक रजत र तीन कास्य पदक प्राप्त गरेको छ। यसैगरी सुदूरपिश्चमले समान एक रजत र कास्य, कर्णाली प्रदेशले एक रजत, प्रदेश एकले ६ कास्य र मधेस प्रदेशले दुई कास्य जिते।

प्रतियोगिताको अन्तिम दिन शनिबार पाँच इभेन्टको फाइनल भएको थियो। जसमा पुलिसले दुई तथा एपिएफले तीन स्वर्ण पदक जितेका थिए। 

तीन वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका पुलिसकी सुनिता महर्जनले ६८ केजी मुनी  र नविन रसाइलीले ६७  केजी तौल समूहमा स्वर्ण पदक जिते।

सुनिताले बागमती प्रदेशकी विनिता श्रेष्ठलाई हराउँदै स्वर्ण जितेकी हुन् । यो स्पर्धामा एपिएफकी डायना ओझा र मधेश प्रदेशकी मोनिका मगरले कास्य पदक जिते।

पुरुष ६७ केजीको फाइनलमा आर्मीका सन्नी चौलागाईले हराउँदै नविनले स्वर्ण पदक जितेका हुन्। बागमतीका निमा शेर्पा र एपिएफका प्रतिक घर्ती मगरले कास्य पदक जिते।

एपिएफकी मनिषा चौधरीले ५५ केजी, मोहमद शेख आलमले ८४ केजी मुनि र सुवास घतानीले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए।

लुम्बिनी प्रदेशकी वर्षा बुढा मगरलाई हराउँदै मनिषाले स्वर्ण पदक जितेकी हुन्। आर्मीकी सारदा सुनार र प्रदेश एककी विद्याकला राईले कास्य पदक जिते।

८४ केजी मुनीको तौल समूहमा गण्डकी प्रदेशका विशाल थापा मगरलाई हराउँदै मोहमद शेखले स्वर्ण पदक जिते।  पुलिसका स्विकार राई र आर्मीका निकेश मानन्धरले कास्य पदक हात पारे।

७५ केजी तौल समूहमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई हराउँदै सुवासले स्वर्ण पदक जितेका हुन्। प्रदेश  एकका रुरिहाङ धामी र पुलिसका आकाश मण्डलले कास्य पदक जिते।

प्रतियोगितामा महिलातर्फ एपिएफकी मनिषा चौधरी र पुरुषतर्फ पुलिसका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।

गोदावरी नगरपालिकाको आयोजनामा भएको कृष्णप्रसाद भट्टराई  खेलकुद  महोत्सव अन्तर्गत दोस्रो कृष्णप्रसाद भट्टराई स्मृती कराते प्रतियोगिता नेपाल कराते महासंघको प्रमूख डोजो ललितपुरले सञ्चालन गरेको थियो।

तीन दिनसम्म सञ्चालन भएको भएकोप्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीले १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा, बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे।