एलपिएल

एलपिएलः लोटस आइ र नव बाल बाटिका विजयी

धनगढी । विद्यालय स्तरीय यु-१९ राष्ट्रिय ट्वान्टी -२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा लोटस आइ स्कुल अत्तरिया र नव बाल बाटिका स्कुल बौनिया विजयी भएका छन्।

धनगगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा लोटस आइले भुवनेश्वरी विद्या मन्दिर महेन्द्रनगरलाई ६ विकेटले पराजित गरेको हो। 

भुवनेश्वरीले प्रस्तुत गरेको ६४ रनको लक्ष्य लोटस आइले १०.३ ओभरमा चार विकेट गुमाउँदै  भेट्टायो । लोटस आइका लागि योगेन्द्र भाटले सर्वाधिक १८, आयुव चन्दले १२ तथा प्रेम शाहले १० रन बनाए।

भुवनेश्वरीका लागि कैलाश ऐरले दुई तथा विपिन धामीले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ राजेको भुवनेश्वरीले १२.५ ओभरमा सबै विकेट गुमाउँदै ६३ रनको योगफल तयार पारेको थियो । भुवनेश्वरीको लागि खगेन्द्र ठगुन्नाले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

लोटस आइका लागि सन्तोष बिजले पाँच तथा विरेन्द्र नाथ र हिक्मत महराले  समान दुई विकेट लिए।

दिनको दोश्रो खेलमा नव बाल बाटिकाले लिटल फ्लावर स्कुललाई नौ विकेटले पराजित गरेको थियो । लिटल फ्लावरले प्रस्तुत गरेको ९० रनको लक्ष्य नव बाल बाटिकाले १४.४ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो।

नव बाल बाटिकाका लागि नरबहादुर शार्कीले अविजित ४० तथा विराट सिंह भण्डारीले अविजित ३२ रन बनाए।

 दोश्रो विकेटको लागि नरबहादुर र विराटले ८४ रनको साझेदारी गरेका थिए ।  

यस अघि टस जितेर ब्याटिङ राजेको लिटल फ्लावरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो । लिटल फ्लावरका लागि नरेन भट्टले ३० तथा विपिन रावलले १९ रन बनाउनु बाहेक अन्य ब्याटरलेले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नव बाल बाटिकाका लागि वीरबहादुर घर्ति मगरले सर्वाधिक चार, नरबहादुर सार्कीले दुई  तथा प्रकाश जैसी र गजेन्द्र बोहराले समान एक विकेट लिए।