इङ्लिस प्रिमियर लिग

वेस्ट ह्यामसँग बराबरीमा रोकियो चेल्सी

काठमाडौं । एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा वेस्ट ह्यामसँग १-१ को बराबरीमा रोकिएको छ ।

वेस्ट ह्यामको घरेलु मैदान लन्डन स्टेडियममा खेलको १६ औं मिनेटमा जाओ फेलिक्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । फेलिक्सले इन्जो फर्नान्डेजको पासलाई सदुपयोग गरे ।

चेल्सीको यो अग्रता लामो समयसम्म टिक्ने भने सकेन । २८ औं मिनेटमा इमरसन पाल्मिरीले गोल गर्दै वेस्ट ह्यालाई बारबरीमा ल्याए । पाल्मिरीले जारोड बोवेनको पासलाई पोस्टको दिशा दिएका हुन् ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा लण्डन डर्बी १-१ को बराबरीमा समाप्त भएको हो । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यस बराबरीसँगै चेल्सी २२ खेलमा ३१ अंक जोड्दै नवौं स्थानमा रहँदा वेस्ट ह्याम समान खेलबाट २० अंकका साथ १५ औं स्थानमा छ ।