एथ्लेटिक्स

कीर्तिमानी धावकको एसियाड लक्ष्य

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कीर्तिमानी टाइमिङका साथ शनिबार स्वर्ण पदक जितेपछि सशस्त्र प्रहरी बलको एपिएफका धावक शिवचन्द्र पार्कीले एसियाली खेलकुदमा पदक जित्नुका साथै थप कीर्तिमान बनाउने लक्ष्य रहेको बताएका छन् ।

पोखरा रंगशालामा एक सय मिटर दौडमा १०ः५६ सेकेन्डमा दूरी पार गर्दै पार्कीले रामकृष्ण चौधरीको नाममा रहेको २३ वर्ष पुरानो कीर्तिमानमा सुधा गरे । यसअघि रामकृष्ण चौधरीको नाममा सय मिटरको कीर्तिमान थियो । चौधरीले १९९९ मा १०ः७१ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
 
‘मेहनत चाँहि गर्नुपर्छ हार खानु हुँदैन । च्याम्पियन बन्छु भनेर लगातार साँझ बिहान नभनी परिवार सब त्यागेर एकदम दुःख गरेर निस्किएको थिएँ । २०६९ देखि खेल्न थाले पनिे मेो पनि उत्कृष्ट प्रदर्शन यही हो,’ सागका स्वर्ण पदकधारी धावक गोपीचन्द्र पार्कीका भाई शिवचन्द्रले शनिबार कीर्तिमानी स्वर्ण पदक जितेपछि भने, ‘विभागले यत्तिको ट्रेनिङ गरायो भने जित्छ भन्ने हिसावले गरायो । त्यसको फल मिलेको छ । मेरो अबको लक्ष्य भनेको २ सय मिटरमा कीर्तिमान बनाउने र एसियाली खेलकुदमा पदक जित्ने हो ।’

सशस्त्र प्रहरी बलका जागिरे पार्कीले मासिक रुपमा आउने पारिश्रमिकको भरमा सहज जीवनयापत सम्भव नभएको बताए ।

‘यसरी कुद्न पुग्दैन । कुद्नमात्र होइन खानै पुग्दैन । केही पुग्दैन । जागिर भएपछि घरमा आमाबाबुले पनि आशा गर्छन । तर म उल्टै घरबाट माग्छु । घर जान्छु, फर्किदा टिकट घरबाटै काटिदिनुपर्छ,’ सशस्त्र प्रहरी बलबाट मासिक ३० हजार रुपैयाँ पारिश्रमिक पाउने शिवचन्द्रले थपे, ‘त्यही भएर म वर्षमा एक पटक मात्र घर जान्छु ।’