स्थापितको अनुपस्थितीमा नयाँलाई अवसर

टोकियो, (खेलाडी) – कोभिड–१९ महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० शुक्रबारबाट औपचारिक रूपमा सुरु हुँदै छ । यद्यपि महिला र पुरुष फुटबलका खेल भने सुरु भइसकेका छन् । 

टोकियो ओलम्पिक २०२० स्टार खेलाडीको अनुपस्थितिमा नयाँ खेलाडीले आफूलाई स्थापित गर्ने सुनौलो अवसरका रुपमा उपयोग गर्न सक्छन् । रियो ओलम्पिक २०१६ सम्पन्न भएको ५ वर्ष बितिसेकेको छ । यसबीचमा धेरै परिवर्तन भइसकेको छ । तीन पटकका डबल स्प्रिन्ट च्याम्पियन उसेन बोल्ट अहिले जमैकामै छन् भने अमेरिकी पौडीबाज माइकल फेल्पसले पनि संन्यास लिइसकेका छन् ।

यस पटक टोकियो ओलम्पिकमा फेल्पसको उत्तराधिकारीका रूपमा काइलेब ड्रेसेललाई हेरिएको छ । उनले रियो ओलम्किपमा रिलेतर्फ दुई स्वर्ण पदक जितेका थिए ।

सन् २०१२ लन्डन र २०१६ को रियो ओलम्पिकमा सनसनी मच्चाएका बोल्टले आफ्नो नाममा धेरै कीर्तिमान लेखाए । बोल्टले सन् २०१७ मा संन्यास लिएका थिए । तर बोल्टको कीर्तिमान बिर्साउने नयाँ पिँढीका खेलाडीको उदय पनि भइरहेको छ । नर्वेका क्रास्टेन वार्लहोमले यसै महिना ४ सय मिटर हर्डल्समा कीर्तिमान बनाएका थिए । युएस ट्रायल्सको सोही विधामा महिलातर्फ सिड्ने म्याकलाउफलिनले पनि कीर्तिमान रचेकी थिइन् ।

स्प्रिन्टतर्फ स्वर्ण पदकको दाबेदारका रूपमा अमेरिकाका १७ वर्षे इरयोन नाइटनलाई हेरिएको छ । ओलम्पिकको टिकट पक्का गर्ने क्रममा इरयोनले २ सय मिटरको दूरी १९.८४ सेकेन्डमा पूरा गर्दै बोल्टको नाममा रहेको कीर्तिमान भंग गरेका थिए ।

यता फिल्डतर्फ स्विडेनका पोल भल्टका २१ वर्षे अर्मान्ड डुप्लान्टिसलाई स्वर्ण पदकको मुख्य दाबेदारका रूपमा हेरिएको छ । 

टोकियो ओलम्पिकबाटै स्केट बोर्डिङ पनि समावेश गरिएको छ । यस विधामा बेलायतका १३ वर्षका स्काई ब्राउनलाई स्वर्णको दाबेदारका रूपमा हेरिएको छ । 

यता जिम्न्यास्टिकतर्फ सिमोना बाइल्स लारिसा लेटनिनाको नाममा रहेको ९ ओलम्पिक स्वर्ण पदकको कीर्तिमान तोड्न चाहन्छिन् ।  टोकियो ओलम्पिकमा सहभागिता जनाउने केही स्टार खेलाडीमा बाइल्स पनि समावेश छिन् । बाइल्सले सन् २०१३ यता हारको सामना गर्नुपरेको छैन । बाइल्सले सन् २०२४ को पेरिस ओलम्पिकसम्म संन्यास नलिने घोषणा गरिसकेकी छिन् ।