शुक्रबारबाट ओलम्पिक, छैन उत्साह

टोकियो, (खेलाडी) – टोकियो ओलम्पिक २०२० का लागि सहभागी  खेलाडी र पदाधिकारी ओलम्पिक भिलेजमा आइसकेका छन् । साथै विश्वभरका सञ्चार माध्यमको आँखा यसतर्फ सोझिएको छ, तर ओलम्पिक सुरु हुन एक दिन मात्र बाँकी रहँदा जापानमा उल्लासको वातावरण भने अझैसम्म देखिएको छैन ।

प्रतियोगिताको सफल आयोजना तथा जापानी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीलाई पनि ओलम्पिक भिलेजबाट बाहिर निस्कन पूर्ण रूपमा बन्देज छ । कोभिड १९ संक्रमणको त्रास कायमै रहेकाले टोकियोमा आंशिक स्वास्थ्य संकटकाल जारी छ ।

विदेशी समर्थकलाई पूर्ण रूपमा रोक लगाइएको टोकियो ओलम्पिक २०२० का प्राय सबै जसो खेलस्थलमा स्थानीय दर्शकलाई समेत रोक लगाइएको छ । टोकियो ओलम्पिक रंगशालामा शुक्रबार हुने उद्घाटन समारोहमा करिब ९ सय जनाको मात्र सहभागिता रहनेछ । तीमध्ये १ सय ५० जना मात्र जापानी नागरिक हुनेछन् ।

कोभिड १९ महामारी नहुँदो हो त टोकियो ओलम्पिक समापनको एक वर्ष भइसक्ने थियो । महामारीकै कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० अन्ततः शुक्रबारबाट औपचारिक रूपमा सुुरु हुँदैछ । ओलम्पिक इतिहासमा प्रतियोगिता सरेको यो नै पहिलो पटक हो । यसबीच प्रतियोगिता पुनः सर्ने खबर पनि सार्वजनिक नभएका होइनन् । यद्यपि गत वर्षझंै यस वर्ष पनि जापानी नागरिक ओलम्पिक आयोजनाप्रति सन्तुष्ट छैनन् । 

‘सन् १९६४ मा आयोजना गरेको ओलम्पिक र अहिले आयोजना हुन लागेको ओलम्पिकमा धेरै फरक छ । त्यस समयमा जापानी नागरिकमा कुनै चाडपर्वजस्तै उत्साह थियो,’ ८० वर्षीया मिचिको फुकोईले भनिन्, ‘अहिले असन्तुष्टिका बीच प्रतियोगिता आयोजना गरिँदै छ ।’ प्रतियोगिता कसरी सफल आयोजना हुन्छ भन्ने सबैको चासो बनेको छ । 

जापानका अधिकांश सहरमा टोकियो ओलम्पिक २०२० को झन्डा फहराइएको छ भने सडकका भित्ताका साथै सार्वजनिक बसमा पनि ओलम्पिक र पारा ओलम्पिकको मस्कट देख्न सकिन्छ ।

कोभिड १९ संक्रमण डरकै कारण यस पटक केही चर्चित खेलाडीले टोकियो ओलम्पिकबाट नाम फिर्ता लिएका छन् । कोभिड १९ संक्रमणको दर बढ्दो मात्रामा रहेकै कारण अन्तिम समयमा आएर स्थानीय समर्थकलाई समेत मैदान प्रवेशमा रोक लगाइएको थियो । उद्घाटन सत्र राति ८ बजे सुरु हुनेछ र सो समयमा सबै रेस्टुरेन्ट बन्द गर्दै मदिरा बिक्री गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

साइरा ओनुमाले चिट्ठामार्फत ओलम्पिक टिकट प्राप्त गरे पनि उनी खेल दौरान मैदानमा उपस्थित हुने वा नहुने भन्ने बारे आफैं अन्योलमा छिन् । टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सरेपछि गत वर्ष नै टिकट खरिद गरिएका केही समर्थकमाझ चिट्ठा गराइएको थियो ।

‘मैले आलम्पिक रंगशालामा हुने एथलेटिक्सतर्फ अन्तिम स्पर्धाको टिकट प्राप्त गरें,’ २९ वर्षीया ओनुमाले भनिन्, ‘समर्थकलाई मैदान प्रवेश नगराउने भन्ने निर्णयले म निकै निराश छु । म खेलदौरान मैदानमा उपस्थित हुने वा नहुने भन्नेबारे आफंै अन्योलमा छु । मलाई प्रतियोगिता आयोजना हुँदैछ भन्नेमा पनि कुनै खुसी छैन ।’