अस्ट्रेलियाले अर्को महिना बंगलादेश भ्रमण गर्ने

ढाका, (खेलाडी) – पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि अस्ट्रेलियाले अर्को महिना बंगलादेश भ्रमण गर्ने भएको छ । 

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले बिहीबार ट्वान्टी–२० शृंखलाका लागि अस्ट्रेलियाले अर्को महिना बंगलादेश भ्रमण गर्ने जानकारी दिएको हो ।  हाल वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलिया बंगलादेशसँगको ट्वान्टी–२० शृंखला खेल्न जुलाई २९ मा ढाका पुग्ने तालिका छ । 

तीन दिनको ढाका बसाइपछि भ्रमणकारी टोली अस्ट्रेलियाले अगस्ट ३, ४, ६, ७ र ९ तारिखमा पाँच ट्वान्टी–२० खेल खेल्नेछ । सेरे बंगला राष्ट्रिय क्रिकेट रंगशाला ढाकामा दर्शकको अनुपस्थितीमा खेलहरु हुनेछन् । 

बिसिबीका कार्यकारी प्रमुख नाजिम उद्दिन चौधरीले कोभिड १९ को महामारीको समयमा शृंखला आयोजना गर्नु निकै चुनौतीपूर्ण रहेको बताएका छन् । 

दक्षिण एसियामा कोरोना महामारी भएको अवस्थामा बंगलादेशमा कोभिड १९को संक्रमण फैलिने डर अलि बढी छ । हालै मात्र सकिएको मुस्लिमहरूको चाड बकर इदपछि बंगलादेश सरकार आउँदो साताबाट कडा लकडाउन गर्ने योजनामा छ । कोभिड १९ का कारण बंगलादेशमा १० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने १८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।