फुटसल

खुल्ला छनोटबाट राष्ट्रिय फुटसल टोली निर्माण गरिने

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले राष्ट्रिय फुटसल टोली निर्माणका लागि खुल्ला छनोट गर्ने भएको छ ।

मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा सहभागी हुने राष्ट्रिय टोलीका लागि एन्फाले छनोट प्रतियोगिता गर्न लागेको हो ।

छनोट प्रतियोगिता चन्द्रागिरी, काठमाडौंको मत्स्या रिक्रिएशन सेन्टरमा हुनेछ । एन्फाले छनोट प्रतियोगिताको मिति भने तय गरेको छैन । एन्फाले इच्छुक खेलाडीलाई भाद्र १० देखि १५ सम्ममा आवश्यक दर्ता फारम भर्न सुचना जारी गरेकाे छ ।

एन्फाले सोमबार मात्र गौरव बस्नेतलाई प्रशिक्षक र थमन भुसाललाई सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो ।

छनोटको समूह‘ डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।