स्कुल टु ओलम्पिक

कोशीमा स्कुल टु ओलम्पिक सम्पन्न

काठमाडौं । कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा  इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ ।

विधार्थीहरुलाई स्कुलबाट खेलकुदमा आबद्ध हुनु प्रेरित गर्ने उद्देश्यका साथ मंगलबार आयोजना भएको स्कुल टु ओलम्पिक कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विधालयका  करिब ४ सय विधार्थीहरुको सहभागिता थियो ।

ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा रहेको टोलीमा कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, पुष्पराज ओझा, डम्बर कुवर, मेनुका राउत, टिकाराम श्रेष्ठको सहभागिता थियो ।

सोही टोलीमा  एसियाली खेलकुदकी कास्य पदक विजेता करातेकी सिता राई, राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्ता हरि खड्का पनि रहेका थिए ।

खेलाडीहरुले विधार्थीहरुलाई विद्यालयमा रहँदै आफूलाई रुची भएको खेलमा आबद्ध भएर प्रशिक्षण गरेको खण्डमा भविष्यमा सफलता मिल्न सक्नेमा सम्भावना बढी हुने बताए । उनीहरुले खेलकुदसँगै अध्ययनलाई पनि सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए।

 इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लले कोशी प्रदेशको राष्ट्रपति रनिङ शिल्ड छनोटका दौरान देशका ख्यातीप्राप्त खेलाडीले आ आफ्नो अनुभव साट्दा नयाँ खेलाडीहरुलाई प्रेरणा मिल्ने बताए ।

सोमबार राष्ट्रपति रनिङ शिल्डको उद्घाटनका दौरान प्रदेश खेलकुदले ओलम्पियन र अन्य खेलाडीलाई सम्मान गरेको थियो । स्कुल टु ओलम्पिक आयोजनाका लागि कोशी प्रदेश प्याब्सनले सहयोग गरेको थियो ।

त्यसअघि सोमबार राष्ट्रपति रनिङ शिल्डको उद्घाटनमा सहभागी हुनुका साथै सबै खेल एथलेटिक्स, भलिबल, तेक्वान्दो, कराते, कबड्डी र उसु प्रतियोगिताका आयोजनास्थलमा पुगि खेलाडीहरु हौसला बढाएका थिए।

स्थानिय खेलकुद प्रदेशसँगको समन्वयमा ओलम्पियन्स संघले देशव्यापी रुपमा स्कुल टु कार्यक्रम आयोजनाको लक्ष्य राखे अनुरुप यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सम्पन्न भइसकेको र भविष्यमा अन्य प्रदर्शनमा पनि आयोजना गरिने संघका अध्यक्ष विष्टले जानकारी दिए ।

ओलम्पियनहरुको टोलीले मंगलबार नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की उनकै कार्यालयमा भेट गरी कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।