बाग्मती टच रग्बी प्रतियोगिता

प्रहरी स्कुललाई दोहोरो उपाधि

काठमाडौं । नेपाल प्रहरी स्कुल (एनपीएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । प्रहरीको ब्वाइज/गर्ल्स दुवै टोली उपाधि चुम्न सफल भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्वाइज फाइनलमा प्रहरीले प्रारम्भलाई ३–१ ले पराजित गर्यो । फेरिल्यान्ड तेश्रो भयो ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा नेपाल रग्बी संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गर्ल्सको उपाधि भिडन्तमा प्रहरीले जोसेफलाई ‘ड्रप बल’ मा २–० ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । यसमा पारामाउन्ट तेश्रो भयो ।

ब्वाइजमा प्रहरीका पदम चौलागाईं तथा गर्ल्समा पारामाउन्टकी एलिना राई उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सविच गोविन्द घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगिताको ब्वाइजमा १० तथा गर्ल्समा ९ टिम सहभागी थिए ।