जिवनराम श्रेष्ठ

एनओसी अध्यक्ष श्रेष्ठ पर्यटन मन्त्री बन्दै

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर आठबाट निर्वाचित सांसद श्रेष्ठलाई उनको दल नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (नेकपा एस)ले पर्यटन मन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेकपा एसको आज (आइतबार) बसेको केन्द्रिय कमिटी बैठकले पार्टीका तर्फबाट सरकारमा सहमागी भएका पाँच मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार प्रेमकुमार आलेले निर्वाह गर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी श्रेष्ठलाई तोकिएको छ ।

नेकपा एसले केन्द्रिय कमिटीको निर्णयअनुसार आफ्नो दलका तर्फबाट सरकारमा पुगेका सबै चार मन्त्री र एक राज्यमन्त्रीको ठाउँमा पठाउने पाँच जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको बताइएको छ ।

स्रोतका अनुसार नेकपा एसको भागमा परेका मन्त्रालयमध्ये भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या, एनओसी अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व लिनेछन् । यसैगरी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी हिरा केसीको भागमा परेको बताइएको छ ।

यसअघि नेकपा एसलाई प्रतिनिधित्व गर्दै विरोध खतिवडाले स्वास्थ्य, प्रेमबहादुर आलेले पर्यटन, रामकुमारी झाँत्रीले सहरी विकास, कृष्णकुमार श्रेष्ठले श्रम मन्त्रालयको नेतृत्व गरेका थिए । भवानी खापु स्वास्थ्य राज्यमन्त्री थिइन ।