इङ्लिस प्रिमियर लिग

ड्यानजुमा टोटनहममा

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले बुधबार एभर्टनलाई पछि पार्दै नेदरल्यान्डस्का स्ट्राइकर अर्नोट ड्यानजुमालाई भियारियालबाट लोनमा भित्राएको छ ।

एभर्टन ड्यानजुमाको अनुबन्धको संघारमा रहे पनि अन्तिम समयमा भने टोटनहमले बाजी मारेको हो । 

‘चुनौतीका लागि तयार छु । टोली एकताले सफलता मिल्छ’, ड्यानजुमाले ट्विट गरेका छन, ‘म निकै उत्साही छु । म तपाईहरुलाई मैदानमा भेट्न आतुर छु ।’

टोटनहम ३६ अंकसहित प्रिमियर लिगको पाँचौ स्थानमा छ । जुन चौथो स्थानको युनाइटेडभन्दा मात्र तीन अंक कम को । टोटनहमले सोमबार फुलहमलाई १-० ले हराउँदै युनाइटेडसँगको दुरी कम गरेको थियो । 

टोटनहमले यसअघि लियोनार्दो ट्रोसार्ड र मिखाइलो मुड्रिकलाई भित्राउने इच्छा देखाए पनि सफल भने भएन । ट्रोसार्ड आर्सनल र मुड्रिक चेल्सीमा अनुबन्ध भएका थिए । 

ह्युङ मिन सन, डेजान कुलुभेस्कि, रिचार्लीसन र लुकास मौरा पूर्ण रुपमा फिट नभएको बेला ड्यानजुमाको आगामनले टोटनहमलाई राहत मिलेको छ ।