इङ्लिस प्रिमियर लिग

क्वाटारा बर्नामाउथमा अनुबन्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब एएफसी बर्नामाउथले लोरेन्टका विंगर डांगो क्वाटारालाई साढे पाँच वर्षका लागि अनुबन्ध गरेको छ ।

२० वर्षका क्वाटाराले लिग वानमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन । उनले यस सिजन लोरेन्टका लागि १८ खेलमा ६ गोल गरेका छन ।

बुर्किना फासोका विंगर क्वाटारालाई अनुबन्ध गर्न प्रिमियर लिगकै क्लब एभर्टन र लेस्टर सिटीले पनि इच्छा देखाएको थियो । तर बर्नामाउथ एभर्टन र लेस्टरलाई पछि पार्दै क्वाटारालाई अनुबन्ध गर्न सफल भएको हो ।

उनको अनुबन्धमा बर्नामाउथले २० मिलियन युरो खर्चिएको हो । प्रिमियर लिगमा बर्नामाउथ १९ खेलमा १६ अंकसहित १७औं स्थानमा छ । रेलिगेशनबाट बाच्न संघर्षरत बर्नामाउथले प्रिमियर लिगको पछिल्लो नौ खेलमा खेलमा आठ खेल हारेको छ ।

बर्नामाउथले क्वाटाराको आगमनमा स्भभाविक लयमा फर्कने आशा लिएको छ ।

‘हामी डांगो क्वाटारालई अनुबन्ध गर्न सफल भएका छौ,’ क्लबका कार्यकारी प्रमुख निल ब्लेकले भने, हामी लामो समयदेखी उनलाई अनुबन्ध गर्न लागि परेका थियौ । आशा छ टोलीले छिट्टै स्वभाविक लय भेट्टाउनेछ ।'