नेपाली फुटबल

लिग नरोक्न क्लबलाई खेलाडीको ध्यानाकर्षण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पाका खेलाडी सुजल श्रेष्ठले अन्योलमा रहेको शीर्ष डिभिजन लिग समयमै गर्ने ग्यारेन्टीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमतिअनुसार क्लबहरुलाई दिनुपर्ने रकम समयमा नदिएपछि आगामी पुस २६ गतेबाट हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्योलमा परेको थियो ।

कात्तिक २१ गतेको दुईपक्षीय सहमतिअनुसार एन्फाले शीर्ष डिभिजनका सबै १४ क्लबलाई मंसिर १५ गतेभित्र गत वर्षको बाँकी र यसपालीको तयारी खर्चवापतको गरि २२ लाख ५० हजार रुपैयाँको दरले दिनुपर्ने थियो ।

तर गत वर्षको ७ लाख ५० हजार र यो वर्षको १५ लाख रुपैयाँ सहमतिअनुसार नपाएपछि शीर्ष डिभिजनका ९ क्लबको बैठकले तत्काल पैसा उपलब्ध गराउन र पैसा उपलब्ध गराएको मितिले तीन महिनापछि लिग आयोजना गर्न एन्फाको ध्यानाकर्षण गराएको थियो ।

ए डिभिजनका १४ मध्ये तीन विभागीय (त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ)का साथै साविक विजेता मछिन्द्र र नवप्रवेशी चर्च ब्वाइज क्लब शुक्रबारको क्लब बैठकमा सहभागी थिएनन् । सहभागी ९ क्लबले तत्काल पैसा उपलब्ध गराउन र त्यसको तीन महिनापछि पूर्व सहमतिअनुसार दोहोरो राउन्ड रोबिन पद्दतिमा लिग आयोजना गर्न भन्दै एन्फालाई आइतबार संयुक्त पत्र बुझाएका थिए ।

क्लबको मागमाथि एन्फाले आधिकारिक धारणा सार्वजनिक गरिनसकेको अवस्थामा खेलाडीहरु स्वयमले लिगको ग्यारेन्टीका लागि आवाज उठाउन थालेका हुन् ।

सुजलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै लिग सर्न लागेकोमा चासो प्रकट गरे । उनले सहमतिअनुसार क्लबलाई एन्फाले रकम उपलब्ध गराउनुपर्ने मागमा सहमति जनाउँदै क्लबले पनि खेलाडीलाई समयमा सहमतिअनुसारको रकम उपलब्ध नगराएकोमा सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

उनले खेलेवापतको पारिश्रमिक नपाउँदा पनि खेलाडी कहिल्यै नेपाली फुटबलमा बाधक नबनेको बताउँदै सरोकारवाला सबै पक्षलाई लिगलगायतका फुटबल गतिविधि सुचारु गर्नका लागि तत्काल सहमति जुटाउन आह्वान गरेका छन् ।

‘घरेलु फुटबल फेरि सर्ने संघारमा रहेछ । हुन्छ की हुँदैन भन्नेमा हामी अनविज्ञ छौं । हामी खेलाडीको तर्फबाट तपाईहरु सबैलाई धन्यवाद । खेलाडीले खेल्न नपाउनु तपाईहरुको उद्देश्य नै हो भने हामी खुशी हुनुपर्छ,’ सुजलले फेसबुकको वालमा क्लबहरुलाई सम्बोधन गर्दै आक्रोस पोखेका छन्, ‘एन्फाले आफ्नो बाचाअनुसार सिघ्र रकम उपलब्ध गराउनुपर्छ । तर तपाईहहरुले वाचाअनुसारको रकम नपाउँदा समयमा खेल्न नसकिने कुरा सही हुन सक्छ । तर खेलाडीलाई प्रयोग गरेवापत एकाध बाहेकका क्लबले वाचा र सहमतिअनुसारको पारिश्रमिक समयमा र पूर्ण उपलब्ध गराउनुभएको छ ? जवाफ सकारात्मक नआउला ।’

एन्फाले घोषणा गरेअनुसार नेपाली राष्ट्रिय टोली, विभिन्न उमेर समूहका राष्ट्रिय टोली र महिला राष्ट्रिय तथा महिला उमेर समूहका टोलीको पुरस्कार लामो समयसम्म पनि नदिएकोमा पनि सुजलले दुःखेसो गरेका छन् । त्यसका बावजुद खेलाडी कहिल्यै फुटबलको बाधक नबनेको भन्दै उनले क्लबलाई लिगको पक्षमा सहमति गर्न आह्वान गरेका छन् ।

‘हामी खेलाडीले कहिल्यै पनि फुटबलमा बाधक बन्ने काम गरेनौं र जीवनभर गर्दैनौं पनि । हामी खेलाडीहरुले आजको दिनसम्म समझदारी गरेर अभि बढिरहेका छौं । हामी अनुरोध गर्दछौं की, हामी सम्पूर्ण मिलेर आपसी समझदारी र मेहनतमा नेपाली फुटबललाई टेवा पुर्याउन हातेमालो गरौं । हामी र आउने हरेक पुस्ताले खेल्न पाउने स्वच्छ वातावरण सिर्जना भएको होस र सम्पूर्ण नेपाली फुटबल प्रेमीहरु र सिंगो राष्ट्रले नै फुटबलद्धारा गर्व गर्ने क्षण मिलेको होस,’ ह्यासट्याग राइट टु प्ले र सेभ नेपाली फुटबल क्रिएट गर्दै सुजलले आह्वान गरेका छन् ।