एएफसी यु १७ एसियन कप छनोट २०२३

सुखद अन्त्यको लक्ष्यमा नेपाल

काठमाडौं । एएफसी यु १७ एसियन कप छनोट २०२३ अन्तर्गत आज हुने समूह चरणको अन्तिम खेलमा नेपालले चाइनिज ताइपेइको सामना गर्दैछ । 

लगातार दुई खेलमा पराजित भएसँगै छनोट चरण पार पर्ने नेपालको लक्ष्यमा पूर्णविराम लागिसकेको छ । त्यसैले नेपाल चाइनिज ताइपेइविरुद्धको खेलमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । 

श्रीलंकामा सम्पन्न यु १७ साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीले भियतनाम भ्रमणमा भने लय देखाउन सकेको छैन । पहिलो खेलमा थाइल्यान्डलाई ३-० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई ५-० को नतिजा सुम्पिएको थियो । नेपालले दुई खेलमा आठ गोल खाएको छ भने एक गोल पनि गर्न सकेको छैन । 

यता चाइनिज ताइपेइ पनि लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ । पहिलो खेलमा भियतनामसँग ४–० ले पराजित भएको चाइनिज ताइपेइले दोस्रो खेलमा थाइल्यान्डलाइए ३–१ को नतिजा सुम्पिएको थियो ।

समूह ‘एफ’ मा भियतनाम दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको थाइल्यान्डको समान ६ अंक छ ।

नेपाल र चाइनिज ताइपेइले अंक खाता खोल्न सकेको छैन । 

छनोट चरण्मा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली स्वतः एसिया कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ६ उपविजेता टोलीले पनि एसिया कपको टिकट काट्नेछ ।