इङ्लिस प्रिमियर लिग

युनाइटेडमाथि सिटीको सान

लन्डन ।  एर्लिङ  हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ । 

खेलको आठौ मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो । फोडिनले हाल्यान्डको पासलाई गोलमा परिणत गरेका थिए ।

३४औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता दोब्बर पारेको थियो । त्यसको तीन मिनेटपछि हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए  । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा हाल्यान्डको पासमा फोडिनले व्यत्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–० मा पुर्याएका थिए । 

५६औं मिनेटमा एन्टोनी सान्तोसले गरेको गोलमा युनाइटेडले गोलअन्तर कम गर्ने संकेत गरेको थियो ।

६४औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५-१ मा पुर्याएका थिए । जारी लिगमा उनको यो दोस्रो ह्याट्रिक हो ।  ७३औं मिनेटमा फोडिनको ह्याट्रिकमा सिटी फराकिलो जिततर्फ लम्किएको थियो । 

८४औं मिनेटमा एन्थानी मार्सियालले युनाइटेडका  लागि दोस्रो गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा मार्सियालले पेनाल्टीमा गोल गर्दै खेल ६३ को स्थितीमा पुर्याएक थिए । 

सिटी आठ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा एक अंक कम हो । युनाइटेड भने सात खेलमा १२ अंकसहित छैटौं स्थानमा छ ।