इन्डोनेसियामा फुटबल हिंसा

इन्डोनेसियाको घटनाप्रति एएफसीद्धारा दुःख व्यक्त

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेखले इन्डोनेसियन प्रिमियर लिगअन्तर्गत एरेमा एफसी र पेर्सेबाया सुराबायाबीचको खेल दौरान हिंसा भड्किँदा भएको भागदौडमा मारिएका एक सय ७४ समर्थकको मृत्युले आफूलाई ‘गहिरो दुःख’ लागेको बताएका छन् ।

एसियाली फुटबलका प्रमूख शेख सल्मान बिन इब्राहिम अल खालिफाले भने, ‘फुटबललाई ज्यादै माया गर्ने इन्डोनेसियामा भएको यो दूर्भाग्यजनक घटनाले मलाई स्तब्ध बनाएको छ । एएफसी र सम्पूर्ण एसियाली फुटबल परिवारको प्रतिनिधित्व गर्दै म त्यसप्रति दुःख व्यक्त गर्न चाहन्छु । म यो दूर्भाग्यजनक घटनाका पीडितका परिवार र आफन्तलाई हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । यसैगरी घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।’

इस्ट जाभा प्रान्तको मालाङस्थित कान्जुरुहान रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली एरेमा ३–२ को नतिजामा पराजित भएको थियो । घरेलु समर्थकहरु आफ्नो टोली पराजित हुन लागेपछि आक्रोसित भएर मैदानमा ओर्लिएका थिए । मैदानमा समर्थकको ठूलो भिड ओर्लिएपछि त्यसलाई नियन्त्रणमा लिन पुलिसले टियर ग्यास प्रहार गरेपछि अवस्था नियन्त्रणवाहिर पुगेको थियो । पुलिसको टियर ग्यासबाट बाच्न समर्थकबीच भागदौड हुँदा इन्डोनेसियाली फुटबलमा अत्यन्तै दूर्भाग्यजनक घटना भएको थियो ।

इस्ट जाभा पुलिसका प्रमूख निको एफिन्टाले भागदौडका क्रममा एउटै ढोका प्रयोग गरेर सबै मानिसहरु बाहिरिन खोज्दा च्यापिएर धेरैको ज्यान गएको बताए ।

खेल हेर्न रंगशालामा उपस्थित ४० हजारमध्ये तीन हजारको हाराहारीमा दर्शक मैदानमा ओर्लिएको एफिन्टाले जानकारी गराए । उनका अनुसार घटनास्थलमै ३४ जनाले ज्यान गुमाएका थिए । बाँकीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । पुलिसको आधिकारिक तथ्यांकअनुसार झण्डै दुई सय जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

इन्डोनेसिया फुटबल संघ (पिएसएसआई)ले घटनाका कारण तत्काल एक साताका लागि लिगका सबै खेल स्थगित गरेको छ । यसका साथै पिएसएसआईले घटनाको अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धान सुरु गर्नुपूर्व नै इन्डोनेसियाली फुटबलको सर्वोच्च निकायले एरेमा एफसीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

इन्डोनेसियाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को कार्यक्रमअनुसार आगामी मे र जुन महिनामा २० वर्ष मुनिको विश्वकप आयोजना गर्ने तालिका छ ।

‘यो दुर्घटनाले हामीलाई विक्षिप्त बनाएको छ । यो हाम्रो फुटबल संस्कारकै लागि निक्कै दुःखलाग्दो घटना हो,’ इन्डोनेसियाका खेलकुद तथा युवा मन्त्री जाइनुद्धिन अमालीलाई उधृत गर्दै इन्डोनेसियाली सञ्चार माध्यमहरुले लेखेका छन्, ‘हामी अब तत्कालका लागि रंगशालामा समर्थकको उपस्थितीमाथि प्रतिबन्ध लगाउन पनि सक्छौं । त्यसपछि विस्तारै समर्थकलाई निम्त्याएर त्यसमाथि निरन्तर निगरानी गर्नेछौं ।’