युइएफए नेसन्स लिग

स्विट्जरल्यान्डसँग स्पेन स्तब्ध

मड्रिड । स्विट्जरल्यान्डलाई शनिबार २-१ को नतिजा सुम्पिएसँगै स्पेनलाई युइएफए नेसन्स लिगको ग्रुप ए टु को फाइनल प्रवेश गर्नका लागि अन्तिम खेलमा पोर्चुगलमाथि जित्नै पर्ने दबाब परेको छ ।

शनिबार नै सम्पन्न अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले हराउँदै फाइनल प्रवेशको सम्भावना बलियो पारेको थियो । शीर्ष स्थानको पोर्चुगलको पाँच खेलमा १० अंक छ भने दोस्रो स्थानको स्पेनको समान खेलमा आठ अंक रहेको छ । तेस्रो स्थानको स्विट्जरल्यान्डको ६ र चौथो स्थानको चेक रिपब्लिकको चार अंक छ । 

मंगलबार पोर्चुगल र स्पेन समूहको अन्तिम खेलमा आमने सामने हुँदैछन् । शीर्ष स्थानको पोर्चुगलका लागि फाइनल प्रवेश गर्नका लागि बराबरी पनि पर्याप्त हुनेछ । स्पेनलाई भने फाइनल प्रवेश गर्न पोर्चुगलमाथि जितको विकल्प छैन । 

२१औं मिनेटमा म्यानुअल अकान्जीको गोलमा स्विट्जरल्यान्डले अग्रता लिएको थियो । ५५औं मिनेटमा जोर्डी अल्बाले स्पेनलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै ब्रिल इम्बोलोको गोलमा स्विट्जरल्यान्डले पुनः अग्रता लिएको थियो । जुन गोल स्विट्जरल्यान्डको जितमा पर्याप्त बन्यो ।